काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अबदेखि प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकालभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताएका छन्। पार्टीको चुनावी प्रतिज्ञापत्रमाथि आयोजित 'सवाल-जवाफ' कार्यक्रममा बोल्दै उनले शासकीय सुधारका लागि यस्तो नयाँ व्यवस्था ल्याउने घोषणा गरे।
सभापति थापाले अबका दिनमा कांग्रेसले संवैधानिक आयोग, विश्वविद्यालय तथा अन्य निकायहरूमा कुनै पनि प्रकारको दलीय भागबन्डा नखोज्ने स्पष्ट पारे। राजनीतिक हस्तक्षेपका कारण संस्थाहरू कमजोर बनेको स्वीकार गर्दै उनले ती निकायहरूलाई स्वतन्त्र र व्यावसायिक बनाउने प्रतिबद्धता जनाए।
भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति लिने बताउँदै थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरे। यसै सिलसिलामा उनले वि.सं. २०४८ सालपछिका सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रस्ताव समेत अघि सारे। उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गरेर सुशासनको नयाँ सुरुवात गर्ने उनको दाबी छ।