नेपाली क्यासिनोमा“कुरुप व्यापार”को पर्दाफास - गडुल क्यासिनोमा प्रहरीको छापा,१९“जुवाडे” पक्राउ

nepaltext.com


काठमाडौं । पर्यटन प्रवद्र्धनका नाममा सञ्चालित क्यासिनोहरूले कसरी नेपाली समाज र अर्थतन्त्रलाई “डढाइरहेका” छन् भन्ने एउटा कुरुप तस्वीर मंगलबार राति बुढानीलकण्ठमा देखिएको छ ।

 विदेसी पर्यटकका लागि भनिएका क्यासिनोहरू कसरी स्थानीय को गोजी र भविष्य रित्याउने अखडा बनरिहेका छन् भन्ने प्रमाण प्रहरीको पछल्लो छापाले दिएको छ ।

बुढानीलकण्ठ नगरपालिका –१ स्थित “लेमन ट्री होटल” भित्र सञ्चालनमा रहेको गडुल क्यासिनोमा मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मार्यो  । पर्यटनको आवरणमा लुकेर चल्ने जुवा तासको अवैध धन्दा चलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले सोही नगरपालिका वडा नं २ बस्ने ९४ वर्षीय दिलीप लामासहित १३ जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १ लाख ९१ हजार रूपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरेको छ । यो रकम केवल अङ्क मात्र होइन, बरु नेपाली परिवारहरूको पसिना र सामाजिक स्थिरतालाई क्यासिनोको दाउमा लगाइएको एउटा सानो हिस्सा मात्र हो । “पर्यटन” का नाममा प्राप्त इजाजतलाई दुरुपयोग गर्दै स्थानीय नागरिकलाई जुवाको लतमा फसाउने यो प्रवृत्तिले अन्ततः अर्थतन्त्र र सामाजिक संरचना दवै  खोक्रोे बनाउनुका साथै उल्लेखनीय क्षति पुर्यएको छ ।

पक्राउ परेका १३ जनामाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले थप अभियुक्तहरुको विवरण भने सार्वजनिक गरेको छैन । तर, यो घटनाले एउटा गम्भीर प्रश्न भने खडा गरेको छ ।  विदेसीका लागि भनिएका क्यासिनोमा नेपाली नागरिकहरू कसरी निर्धक्क प्रवेश गरिरहेका छन् ?

केही समयअघि मात्रै चर्चामा आएको “पर्यटनको आवरणमा कुरुप व्यापार र डढाइरहेको नेपाली समाज” विषयक बहसलाई यो घटनाले थप बल पुयाएको छ । क्यासिनोहरूले राज्यलाई देखाउने राजश्वको गुलियोभित्र समाजलाई खोक्रो बनाउने जुन विषय छ, त्यसलाई कडाइका साथ लागु नगर्ने हो भने यस्ता पक्राहरू केवल नियमित प्रक्रियामा मात्र सीमित हुनेछन् ।


प्रतिक्रिया