काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सबैभन्दा कम उमेरका दुई युवा महिला निर्वाचित भएकी छन्। ३० वर्षमुनिका अस्मिता थापा र एलिसा गौतम लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी बनेका हुन्। दुवैजना खुला महिला क्लस्टरबाट उम्मेदवार भएकामा थापाले सर्वाधिक १८५९ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने गौतमले १८१२ मत ल्याएर विजयी भएकी हुन्।
अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् भने एलिसा इन्जिनियर पेशामा कार्यरत छन्। यसअघि सोही उमेर समूहका रौनित साह निर्विरोध निर्वाचित भइसकेका थिए। उनीहरूको निर्वाचनले एमालेमा युवा सहभागिता र महिला प्रतिनिधित्वको सशक्तिकरणको संकेत दिएको छ।
३ पुस २०८२, बिहिबार ०३:५२ मा प्रकाशित