काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी भएका छन्। उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्य पदका लागि मात्रै उम्मेदवारी दिएका थिए। ज्ञवालीले प्रारम्भिक रूपमा महासचिव पदमा दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उनलाई उपाध्यक्षमा उठाउने योजना बनाएको थियो। तर ज्ञवालीले उपाध्यक्षको उम्मेदवारी नदिई केन्द्रीय सदस्य पदमा मात्रै चुनावी मैदानमा उत्रिएका थिए।
उनले खुला केन्द्रीय सदस्यतर्फ १९४२ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने उम्मेदवारमध्ये एक बन्ने गौरव हासिल गरे। यसैक्रममा ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापन पक्षबाट रघुजी पन्त उम्मेदवार भएर विजयी भएका छन्। ज्ञवालीको उच्च मतले उनको पार्टीभित्रको लोकप्रियता र प्रभावलाई थप पुष्टि गरेको छ।
३ पुस २०८२, बिहिबार ०३:२४ मा प्रकाशित