काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका क्रममा कुनै पनि व्यवसायीमाथि दबाब नदिन स्पष्ट निर्देशन दिएको छ। ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ शीर्षकमा जारी ३४ बुँदे परिपत्रमार्फत पार्टीले प्रचार अभियान सञ्चालन गर्दा आवश्यक आर्थिक स्रोत व्यवस्थापन स्वेच्छिक र स्वतःस्फूर्त सहयोगका आधारमा गर्नुपर्ने नीति स्पष्ट पारेको हो।
परिपत्रमा भनिएको छ, ‘प्रचार अभियान अघि बढाउन जरुरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठुला साना व्यवसायीलाई देशभर कहीँ पनि दबाब नदिने । ‘साझा दायित्वरसाझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने ।’ पार्टीले आर्थिक पारदर्शिता, खर्चमा संयमता र कानुनी दायित्वप्रति प्रतिबद्ध रहन विशेष जोड दिएको छ।
यसैगरी, पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारीलगायत अवकाश प्राप्त व्यक्तिहरूको अनुभव र ऊर्जालाई समाज र पार्टीका लागि उपयोगी बनाउने उद्देश्यले उनीहरूलाई संगठित रूपमा अभियानमा समेट्न निर्देशन दिइएको छ। देशव्यापी रूपमा यस्तो नेटवर्कलाई सक्रिय बनाउँदै प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडा तहमा निश्चित संयन्त्रमार्फत समन्वय, सम्पर्क र परिचालन गर्न भनिएको छ।
परिपत्रमा विदेशबाट फर्किएका युवाहरूलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। ‘केही वर्ष विदेशमा बिताएर गाउँ फर्किएका हजारौँ नेपाली युवा गाउँहरूमा छन् । अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ-आफ्नै डङ्गको सम्पर्क र प्रभाव छ । विगतमा पार्टीले निर्माण गरेको पूर्व आप्रवासी विभाग मार्फतको कार्ययोजना बमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्नेछ, पुग्नुपर्नेछ ।’ भन्दै ती युवालाई संगठित गरी पार्टीको अभियानमा जोड्न आग्रह गरिएको छ।
आन्तरिक मतभेद र असमझदारीलाई चुनावी अभियानको बाधक नबनाउन पनि पार्टीले आह्वान गरेको छ। विगतका विमतिका विषयलाई बिर्सेर सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध भई चुनावमा होमिन निर्देशन दिइएको छ। ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ को नारासहित मतदातामाझ नवीन विश्वास स्थापित गर्ने लक्ष्यसहित प्रभावकारी अभियान सञ्चालन गर्न जोड दिइएको छ।
परिपत्रमार्फत सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी गराइएको छ। साथै, पार्टीको प्रतिज्ञापत्रअन्तर्गतको ‘भिजन १०’ लाई दृष्टि, दायित्व र गन्तव्यका रूपमा केन्द्रमा राखी अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। पार्टीले संगठित, अनुशासित र पारदर्शी चुनावी अभियानमार्फत जनविश्वास सुदृढ गर्ने रणनीति अघि सारेको छ।