काठमाडौँ – नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो पटक उपाधि जितेको हो।
आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा राशिद खानले सर्वाधिक ८१ रन बनाउँदा कुशल भुर्तेलले ५१ रनको महत्वपूर्ण योगदान दिए।
आर्मीका पवन कार्की र शाहब आलमले २–२ विकेट लिए भने आकाश चन्द र भीम सार्कीले समान १ विकेट लिए।
यसअघि दोस्रो दिनको खेल समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोड्दै कुल लक्ष्य २२७ रन बनाएको थियो। अन्तिम विकेटका लागि आकाश चन्द र इमरान शेखबीच ४९ रनको साझेदारी भएको थियो।
पहिलो इनिङमा दुवै टोलीले समान २२१ रन बनाएपछि खेल बराबरी अवस्थाबाट अघि बढेको थियो। दोस्रो इनिङमा आर्मी २२६ रनमा अलआउट भयो। आर्मीका लागि आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ र भीम सार्कीले ३२ रन बनाए। सोमपाल कामी २३ रनमा अविजित रहे।
पुलिसका लागि सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले समान ३–३ विकेट लिए।
पहिलो इनिङमा पुलिस ६१.४ ओभरमा २२१ रनमा समेटिएको थियो। त्यसक्रममा करण केसीले नवौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ७२ रन बनाए। कप्तान आरिफ शेखले ४४ रन बनाए भने ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ र दिनेश खरेलले १७ रन जोडे।
आर्मीका सोमपाल कामीले ५ विकेट लिँदा आकाश चन्दले २ तथा शाहब आलम, पवन कार्की र नरेन साउदले १–१ विकेट लिए।
खेलमा टस हारेपछि पहिले ब्याटिङ गरेको आर्मी पहिलो इनिङमा २२१ रनमा अलआउट भएको थियो। इमरान शेखले ५० रन बनाउँदा भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन बनाए।
पुलिसका राशिद खानले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले समान ३–३ विकेट लिए।
गत संस्करणको फाइनलमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो।