काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ। सम्मेलनको बन्दसत्रमा प्रस्तुत विभिन्न प्रस्तावमाथि सहभागीहरूले दिएका सुझाव समेटेर प्रस्ताव पारित गर्ने र सम्मेलन समापन गर्ने तयारी गरिएको छ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा साउन ३१ गतेदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको थियो। सम्मेलनमा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी भएको बताइएको छ। सम्मेलनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए।
साउन ३० गतेदेखि सुरु भएको बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रस्ताव र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावहरूमाथि सहभागीहरूले धारणा राख्ने तथा सुझाव दिने क्रम आज पनि जारी छ। सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालका अनुसार प्राप्त सुझावलाई समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिइनेछ।
प्रस्तावहरू पारित गरेपछि आजै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने तयारी रहेको बरालले जानकारी दिए।