देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
nepaltext
२५ साउन २०८३, सोमबार
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीले सडक कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। वर्षाका कारण काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लामा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा बिहान ४ बजे लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडक प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
सिन्धुपाल्चोकमा पनि पहिरोका कारण अरनिको राजमार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकुमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।
त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा बिहान ५ बजे पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।