१५ दिने शत्रुनाश पूजाको कमाल: अनुष्ठान नसकिँदै गृहमन्त्री सुधनको पद 'चट'

nepaltext.com

अग्रवाल परिवारको 'शत्रुनाश पूजा' नसकिँदै गृहमन्त्रीको बहिर्गमन: संयोग कि आध्यात्मिक शक्तिको प्रभाव?

काठमाडौँ । विगत केही समयदेखि विभिन्न आर्थिक प्रकरण र कानुनी झमेलामा रुमल्लिएको शंकर ग्रुपका सञ्चालक अग्रवाल परिवार यतिबेला 'भगवान' को शरणमा पुगेको छ। व्यवसाय र परिवारमाथि लगातार संकट आइलागेपछि सो परिवारले आयोजना गरेको १५ दिने विशेष 'शत्रुनाश पूजा' सम्पन्न भएको छ। रोचक त के छ भने, यो पूजाको पूर्णाहति हुन नपाउँदै अग्रवाल परिवारलाई हिरासतमा पुर्‍याउन भूमिका खेलेका गृहमन्त्री सुधन गुरुङको पद गुमेको छ।

४९ ब्राह्मण र १५ दिनको कठोर अनुष्ठान

शत्रु बाधा निवारण र पारिवारिक सुरक्षाको संकल्पसहित अग्रवाल परिवारले काठमाडौँमा १५ दिनसम्म विशेष तान्त्रिक र वैदिक अनुष्ठान गरेको थियो। अग्रवाल परिवार निकट स्रोतका अनुसार यो पूजामा ४९ जना सिद्ध ब्राह्मणहरू सहभागी थिए।

अनुष्ठानका क्रममा आध्यात्मिक शक्तिको उच्च प्रयोग गर्दै निम्न संख्यामा जप र हवन गरिएको थियो:

  • महामृत्युञ्जय मन्त्र: ५० लाख पटक

  • हवन: ५ लाख पटक

  • तर्पण: ५० हजार पटक

  • अभिषेक: ५ हजार पटक

पूजाको सफलता र राजनीतिक संयोग

वैशाख १० गते बिहीबार पूजा समापन गर्ने शुभ साइत जुरेको थियो। तर, पूजा सकिनुअघि नै रास्वपाका सांसद एवं गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि यसलाई अग्रवाल परिवार र उनीहरूका शुभचिन्तकहरूले पूजाकै फल र सफलताका रूपमा व्याख्या गर्न थालेका छन्।

हाल शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल हिरासतमुक्त भइसकेका छन् भने सुलभ र सुबी अग्रवाल अझै हिरासतमा छन्। हिरासतमा रहेका सदस्यहरूलाई पूजाको अभिषेक गराउन ब्राह्मण पुरोहितहरूले तयारी थालेका छन्।

विशेष सामग्री र प्राचीन पद्धति

शत्रुनाश यज्ञका लागि आवश्यक सामग्रीहरू निकै मेहनतका साथ देशका विभिन्न पहाडी र तराईका क्षेत्रबाट संकलन गरिएको थियो। होम तथा यज्ञमा कुकुरडाइनो, दुबो, गुर्जो, ल्वाङ, सुकुमेल, दालचिनी जस्ता दुर्लभ जडीबुटी र सामग्रीहरूको मिश्रण प्रयोग गरिएको थियो।

त्रेता युगमा भगवान श्रीरामले लंका विजय गर्नुअघि रावणले पनि यस्तै 'शत्रुनाश यज्ञ' गरेको प्रसङ्ग रामायणमा पाइन्छ। सोही प्राचीन पद्धतिलाई पछ्याउँदै आफ्ना विश्वासिला धार्मिक गुरुको सल्लाहमा अग्रवाल परिवारले यो विशेष अनुष्ठान सम्पन्न गरेको हो।

आर्थिक विवाद र कानुनी घेरामा परेर संकटमा परेको यो व्यवसायिक घरानाका लागि यो पूजा आध्यात्मिक ऊर्जा र राहतको माध्यम बनेको देखिन्छ।

प्रतिक्रिया