काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ। पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतको औपचारिक मागका आधारमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्। सभापति शेरबहादुर देउवा सहित संस्थापन समूहका नेताहरूले यस प्रक्रियालाई आलटाल गर्न खोजेपछि विधानको धारा १७(२) अनुसार महामन्त्रीद्वयले नै विशेष महाधिवेशन बोलाउनुपर्ने अवस्था आएको हो। उद्घाटनस्थलमा आज बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएकोमा साँझ ५ बजेसम्म २ हजार ३५ जना प्रतिनिधिले दर्ता गराइसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। महाधिवेशन स्थलको मूल गेट नजिकै राखिएको स्टलबाट दर्ता प्रक्रिया चलिरहेको र प्रत्येक प्रतिनिधिले एक हजार रुपैयाँ शुल्क तिरेर कार्ड लिने क्रम जारी रहेको संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्। पार्टीभित्र देशभरबाट ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्, जसले हस्ताक्षरमार्फत विशेष महाधिवेशनको माग गर्दै अहिले यो ऐतिहासिक भेला सम्भव बनाएका हुन्।