काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा व्यवस्थित प्रणाली (सिस्टम) को विकास नगरेसम्म देशको उन्नति सम्भव नभएको बताएका छन्। बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफूले विगत ७ वर्षदेखि नियमसंगत ढंगबाट र द्रुत गतिमा काम गर्नका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे।
आफ्नो टिमले गरिरहेको तयारी र भावी योजनाबारे प्रष्ट पार्दै उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’
सभापति थापाले चुनावको समयमा सामाजिक सञ्जालको भर मात्र नपर्न कार्यकर्ताहरूलाई सचेत गराएका छन्। उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई घर–घर पुगेर मतदाताहरूसँग साक्षात्कार गर्न निर्देशन दिए। कांग्रेस नयाँ संकल्प र स्पष्ट योजनासहित आएको कुरा आम मतदातामाझ पुर्याउन उनले आग्रह गरे।
१५ फाल्गुण २०८२, शुक्रबार ०१:११ मा प्रकाशित