सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

nepaltext

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान गएको सुख्खा पहिरोले सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहान करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो। पहिरोसँगै खसेका ढुङ्गा आपसमा ठोक्किँदा उछिट्टिएर बीओपी परिसरभित्र पुगेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको भए पनि बीओपीका भवन तथा अन्य संरचनामा भौतिक क्षति पुगेको छ।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानोमा छ वटा प्वाल परेका छन्। साथै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।

यसैगरी, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा पनि प्वाल परेको छ। हिमाली ज्याकेटमा ढुङ्गा लागेर प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा अवस्थाको मूल्याङ्कन गर्नुका साथै क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया