रविको भारत भ्रमण चर्चाले रास्वपाभित्रै तरंग,मोदी भेटको तयारीले पार्टीभित्रै बढ्यो असन्तुष्टि

nepaltext.com

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गते छिमेकी मुलुक भारतको नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएसँगै पार्टीभित्र तीव्र मतभेद र हलचल सुरु भएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भनिएको दुई दिने भ्रमणबारे पार्टी पंक्ति र स्वयम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई समेत पूर्वजानकारी नभएको स्रोतले दाबी गरेको छ।

उच्चस्तरीय भेटघाटको चर्चा र आन्तरिक असन्तुष्टि

भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहितका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तालिका रहेको बुझिएको छ। भ्रमण टोलीमा उनीसँगै पार्टीका सह–महामन्त्री विपिन कुमार आचार्य र प्रवास विभाग प्रमुख दीपकराज बोहरा जाने चर्चा छ।

तर, दलको नियमावली अनुसार सभापति वा पदाधिकारीहरू वैदेशिक भ्रमणमा जाँदा केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिनुपर्ने व्यवस्था छ। पार्टीको संस्थागत निर्णय र जानकारी बिना नै भ्रमण तय भएको भन्दै रास्वपाभित्रै असन्तुष्टि चुलिएको हो।

कूटनीतिक वृत्तको चासो र विज्ञहरूको चेतावनी

नेपाल र भारतबिच पछिल्लो समय कूटनीतिक सम्बन्धमा केही जटिलता देखिएका बेला यो भ्रमणलाई चासोका साथ हेरिएको छ। लिपुलेक मार्ग हुँदै चीन र भारतले व्यापार खुला गर्ने सहमति गरेपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। सोही सीमा विवादका कारण हालै भारतीय विदेशमन्त्री विक्रम मिस्री र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको निर्धारित भ्रमणहरूसमेत स्थगित भएका थिए।

यस्तो संवेदनशील घडीमा बिनातयारी र स्पष्ट एजेन्डाबिना भ्रमणमा जाँदा देश र पार्टी दुवैलाई कूटनीतिक क्षति पुग्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। मंगलबार बिहान लामिछानेले कूटनीतिक क्षेत्रका जानकारहरूसँग परामर्श गर्दा उनीहरूले कालापानी, सुस्ता, पञ्चेश्वर आयोजना र लुम्बिनी विमानस्थल जस्ता राष्ट्रिय सरोकारका गम्भीर मुद्दाहरूमा ठोस तयारी गरेर मात्र संवादमा बस्न सचेत गराएका छन्।

"छिमेकी मुलुकसँग सीमा सम्बन्धी गम्भीर विवाद छ। सत्तारुढ दलका सभापति स्पष्ट तयारी बिना जाँदा भ्रमणकै क्रममा आउने गम्भीर प्रस्तावहरू कसरी डिल गर्ने भन्ने संकट आउन सक्छ," पार्टी स्रोतले भन्यो।

सरकारको स्पष्टीकरण र भ्रमणको अनिश्चितता

यस विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा स्पष्टीकरण दिएका छन्। उनले सभापति लामिछाने आफ्नो व्यक्तिगत वा दलीय हिसाबले जान लागेकाले यसलाई प्रधानमन्त्रीसँग जोडेर हेर्न नमिल्ने र सरकारको औपचारिक भ्रमण भन्न नमिल्ने प्रस्ट पारे।

गत वर्ष भदौमा भएको 'जेनजी' (Gen-Z) आन्दोलनको बल र रवि–बालेनको लोकप्रियताका कारण रास्वपा शक्तिशाली शक्तिका रूपमा उदाएको थियो। तर, वर्तमान भूराजनीतिक जटिलताका बिच प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक अपरिपक्वताका कारण छिमेकीसँगको सम्बन्ध चुनौतीपूर्ण बनेको चर्चा कूटनीतिक वृत्तमा चलिरहेको छ। पार्टीले अहिलेसम्म संस्थागत निर्णय नगरेका कारण लामिछानेको यो भारत भ्रमण अन्ततः कता रोकिन्छ वा अघि बढ्छ भन्ने कुरा अझै निश्चित भइसकेको छैन।

प्रतिक्रिया