सम्बन्ध विच्छेदका मुद्दा उच्च

nepaltext

पाँचथर। पाँचथर जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी देखिएका छन्। पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएपछि यसले पारिवारिक विखण्डनसँगै सामाजिक समस्या निम्त्याउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

जिल्ला अदालत पाँचथरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएका थिए। तीमध्ये ३८४ वटा सम्बन्ध विच्छेदका मुद्दा थिए। यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१/८२ बाट २४६ वटा मुद्दा जिम्मेवारी सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदसम्बन्धी थिए। यसरी गत आवमा अदालतमा कुल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइका लागि पुगेका थिए।

तीमध्ये १६७ वटा मुद्दा मेलमिलापमार्फत टुंगिएका छन्। जिल्ला अदालत पाँचथरकी तहसिलदार तथा सूचना अधिकारी सरस्वती नेम्बाङका अनुसार मेलमिलाप भएका अधिकांश मुद्दामा समेत अन्ततः सम्बन्ध विच्छेद नै भएको छ।

गत वर्ष ७३ वर्षीय श्रीमान् र ५९ वर्षीया श्रीमतीबीच समेत सम्बन्ध विच्छेद भएको थियो। डेढ वर्षको बच्चा भएका दम्पतीसमेत वैवाहिक सम्बन्ध अन्त्य गर्न अदालत पुगेका थिए।

अघिल्लो आर्थिक वर्षको तुलनामा सम्बन्ध विच्छेदका नयाँ दर्ता तथा कुल मुद्दाको संख्या र प्रतिशत दुवै बढेको नेम्बाङले बताइन्। आव २०८१/८२ मा अदालतमा रहेका कुल मुद्दामध्ये ५१ प्रतिशत सम्बन्ध विच्छेदका थिए भने गत आवमा यो अनुपात बढेर ५६ प्रतिशत पुगेको थियो।

नेम्बाङका अनुसार सम्बन्ध विच्छेदका करिब एक तिहाइ मुद्दा वैवाहिक सम्बन्ध अन्त्यको वास्तविक विवादभन्दा कागजी प्रक्रिया पूरा गर्नका लागि दर्ता हुने गरेको पाइएको छ। उनका अनुसार कतिपयले अर्को विवाह गरिसकेपछि कानुनी प्रमाण मिलाउन अदालतबाट सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने गरेका छन्।

सम्बन्ध विच्छेदको बढ्दो क्रमले परिवार र समाजमा पार्ने प्रभावबारे सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ।

अधिवक्ता जयप्रकाश केरुङले बालविवाह, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवनको लत तथा पारिवारिक बेवास्तालगायतका कारण सम्बन्ध विच्छेद हुने गरेको बताए।

उनका अनुसार बालविवाह गरेका कतिपय दम्पती उमेरसँगै परिपक्व हुँदै जाँदा एकअर्कासँग बस्न नसक्ने निष्कर्षमा पुग्ने गरेका छन्। यस्तै, श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा गएपछि उत्पन्न एक्लोपन र सामाजिक सञ्जालका कारण अन्य व्यक्तिप्रति आकर्षित हुँदा वैवाहिक सम्बन्धमा दरार आउने गरेको उनले बताए।

मदिरा सेवनको लतले आर्थिक अवस्था कमजोर बनाउनुका साथै परिवारमा आपसी माया र विश्वास घट्दै जाँदा सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको केरुङको भनाइ छ। पारिवारिक बेवास्ता पनि सम्बन्ध टुट्नुको अर्को प्रमुख कारण रहेको उनले बताए।

सम्बन्ध विच्छेदका कारण बालबालिकाको भविष्यमा समेत गम्भीर असर पर्ने गरेको केरुङले बताए। उनका अनुसार सम्बन्ध विच्छेद भएका ९० प्रतिशतभन्दा बढी घटनामा आमाले नै सन्तानको जिम्मेवारी लिने गरेको पाइन्छ। तर आमाले पुनः विवाह गर्दा वा एक्लैले सन्तान हुर्काउँदा पनि बालबालिकाको मनोविज्ञानमा असर पर्ने गरेको उनले बताए।

सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने कतिपय दम्पती परामर्शका क्रममा भावुक भएर रुने गरे पनि सम्बन्ध जोगाउन तयार नहुने अवस्था देखिएको केरुङले बताए।

पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले सम्बन्ध विच्छेद बढ्नुका कारण पहिचान गरी समाधानका उपाय खोज्न आवश्यक रहेको बताए। रोजगारीको अभावका कारण लामो समयसम्म सँगै बस्न नपाउने दम्पतीको सम्बन्धसमेत कमजोर हुने गरेको उनको भनाइ छ।

सम्बन्ध विच्छेदलाई मनोवैज्ञानिक समस्याका रूपमा समेत बुझ्न थालिएको भन्दै ढुंगानाले परिवार र समाजप्रति त्याग तथा समर्पणको भावना विकास गर्न सचेतना आवश्यक रहेको बताए।

व्यक्तिगत लाभलाई प्राथमिकता दिने र परिवार तथा समाजप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्ने प्रवृत्तिले पनि पारिवारिक विखण्डन बढाएको उनको भनाइ छ। क्षणिक आवेगमा निर्णय गर्दा पारिवारिक संरचनामा असर पर्नुका साथै बालबालिका अभिभावकीय संरक्षणबाट प्रभावित हुने अवस्था आएको उनले बताए।

यद्यपि विगतमा जस्तो महिलाले अन्याय सहेर बस्नुपर्ने बाध्यता नरहेकाले आफ्नो अधिकार र सम्मानका लागि पनि कतिपय महिलाले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको ढुंगानाले बताए।

प्रतिक्रिया