काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै छिमेकी मुलुकहरूसँगको सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाल भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै केवल चर्को कुराले मात्र राष्ट्रिय स्वार्थको रक्षा नहुने बताए।
थापाले भूराजनीतिक संवेदनशीलतालाई बुझेर आन्तरिक र बाह्य सबै पक्षलाई समेट्न सक्ने क्षमता कांग्रेससँग मात्र भएको दाबी गरे। कुनै एक व्यक्तिले जादुमयी ढङ्गले देश बदल्न नसक्ने धारणा राख्दै उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।’
आफूले अबको पाँच वर्ष खेर जान नदिने र 'टिम नेपाल' को अवधारणामा काम गर्ने थापाको भनाइ छ। उनले मुलुकलाई सुधारको बाटोमा लैजान सबै राजनीतिक दलहरूबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिए।
एकल प्रयासले परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उनले थपे, ‘कांग्रेस एक्लैले पुग्दैन। मैले अहिले प्रस्ताव गरेको प्रतिज्ञा पत्रमा लेखिएका दर्जनौँ कुरा गर्नका लागि दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्छ। अनि त्यो संविधान संशोधन गर्न राष्ट्रिय सभा चाहिँदैन ? त्यो संविधान संशोधन गर्न एमाले चाहिँदैन ? माओवादी चाहिँदैन ? रास्वपा चाहिँदैन ? नयाँ पार्टी चाहिँदैन ? अनि म एक्लै चलाउँछु, एक्लै गर्छु, म असल बाँकी रहेका सबै खराब भन्ने यो मनोवृत्तिले देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जान्छ। दुर्घटनामा लिएर जान्छ।’
सभापति थापाले नागरिकहरूलाई उत्तेजनाको राजनीतिमा नबहकिन र संयमित भएर सोच्न समेत आग्रह गरेका छन्।