नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

nepaltext

नेपालगञ्ज । लामो समयदेखि स्थगित रहेको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेसँगै उक्त गन्तव्यमा पुनः उडान सुरु गर्न लागेको जनाएको हो ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले यस उडानमा पछिल्लो समय यात्रुको माग बढेको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।

भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आउनु र इन्धन खर्च बढी हुनुका कारण उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढ्नुका साथै यात्रुको माग पनि बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ । उडानका लागि बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो हवाई सेवा पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार उडान सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट नेपालगञ्जस्थित बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुनेछ । त्यस्तै, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा र मुस्ताङ पुग्न पनि सुविधा हुने उनले बताए ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा हवाई सेवा सातामा तीन दिन सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया