काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ।
महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि र प्रतिष्ठालाई थप सशक्त बनाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको आर्थिक विकास तथा औद्योगिकीकरणका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको अवस्थामा लामिछानेले समितिको नेतृत्व सम्हाल्नु अर्थपूर्ण मानिएको छ। सभापतिको जिम्मेवारीमा रहेर उनले ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति निर्माण तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ।
महासंघले समितिबाट सञ्चालन भएका गतिविधि तथा सम्पादन भएका कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन तथा मूल्यांकन गर्ने व्यवस्था रहेको जनाएको छ।
लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गर्दै आएको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवले महासंघअन्तर्गतको नवीकरणीय एवं ऊर्जा समितिको नेतृत्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।