ट्रम्पको चीन भ्रमण: सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने विश्वास

nepaltext

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको मिति तय भएको छ। ट्रम्पले आगामी मे १४ र १५ (२०८३ साल वैशाख ३१ र जेठ १) मा चीनको औपचारिक भ्रमण गर्ने निश्चित भएको हो।

भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतीक्षित भेटवार्ता हुने छ। यो भेटवार्ता बेइजिङमा आयोजना हुने तय भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ, जसलाई रोयटर्सले उद्धृत गरेको छ।

यसअघि मार्च अन्त्य वा अप्रिलको सुरुतिर हुने अपेक्षा गरिएको यो भ्रमण करिब ६ हप्ता पछि सारिएको हो। ट्रम्पले मार्चको मध्यतिर इरानसँग जारी युद्धका कारण भेटवार्ता पछि सार्न आग्रह गरेका थिए।

बुधबार पत्रकार सम्मेलनपछि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकी प्रतिनिधिमण्डल ऐतिहासिक भ्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्। उनले चिनियाँ राष्ट्रपति सीसँगको भेटलाई ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने विश्वास व्यक्त गरेका छन्।

ट्रम्प प्रशासनका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेपछि जारी युद्ध अझै केही हप्ता लम्बिन सक्ने अनुमान गरिएको छ। यस विषयमा सोधिएको प्रश्नमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले युद्ध चारदेखि छ हप्तासम्म चल्न सक्ने र सोहीअनुसार ट्रम्पको भ्रमण तालिका मिलाइएको बताइन्।

यसैबीच, ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिने कार्यक्रम रहेको छ। लेभिटका अनुसार ट्रम्प दम्पतीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई यसै वर्षपछि वाशिङ्टन डी.सी. भ्रमणका लागि आमन्त्रण गर्नेछन्। उक्त भ्रमणको मिति भने पछि तय गरिने जनाइएको छ।

प्रतिक्रिया