काठमाडौं ।दोलखाको कालिन्चोक गाउँपालिका–२, बाबरे कुशावतीका ८ वर्षीय सुमन थामी गम्भीर हर्मोनसम्बन्धी रोगसँग संघर्ष गरिरहेका छन्। जन्मेदेखि नै हर्मोनमा समस्या देखिएका सुमनको उपचारमा परिवारले एक वर्षमै २२ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर, उपचार अझै पूरा भएको छैन।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत सुमनको अवस्था र परिवारको आर्थिक संकटबारे जानकारी पाएपछि शैलुङ नेपालले उपचारका लागि २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
शैलुङ नेपालका अध्यक्ष गोविन्द रिमालले अस्पतालमै पुगेर सुमनका बुबा दुर्गामान थामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
सुमनका बुबा दुर्गामानका अनुसार छोराको उपचारका लागि औषधि र इन्जेक्सनमै प्रत्येक महिना १५ हजारदेखि २० हजार रुपैयाँसम्म खर्च हुन्छ। त्यसमाथि प्रत्येक तीन महिनामा हर्मोन परीक्षण गर्नुपर्छ, जसका लागि कम्तीमा ५० हजार रुपैयाँ थप खर्च हुने गरेको छ।
‘छोराको हर्मोनमा जन्मेदेखि नै समस्या देखिएको हो। प्रत्येक महिना औषधिमै १५ देखि २० हजार रुपैयाँ खर्च हुन्छ। तीन–तीन महिनामा हर्मोन परीक्षण गर्नुपर्छ। त्यसमा मात्रै कम्तीमा ५० हजार रुपैयाँ लाग्छ,’ दुर्गामानले भने, ‘एक वर्षमा छोराको उपचारमै २२ लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो।’
सुमनको उपचारमा संलग्न चिकित्सकले नियमित औषधि सेवनमा विशेष सावधानी अपनाउन भनेको दुर्गामानको भनाइ छ। एक हप्ता मात्रै औषधि छुटे पनि बालकको ज्यान जोखिममा पर्न सक्ने चिकित्सकले बताएको उनले सुनाए।
छोराको उपचारकै लागि दुर्गामान अहिले काठमाडौंमा बस्दै आएका छन्। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनको आर्थिक अवस्था कमजोर छ। दोलखाबाट काठमाडौं पटक–पटक आउजाउ गर्दा उपचार खर्चसँगै यातायातमा समेत ठूलो रकम खर्च हुने भएपछि उनले न्युरोडमा सानो कोठा भाडामा लिएर बस्न थालेका छन्।
‘छोरालाई नियमित अस्पताल लैजानुपर्छ। दोलखा–काठमाडौं आउजाउ गर्दा झन् धेरै खर्च हुने भयो। त्यसैले न्युरोडमा सानो कोठा भाडामा लिएर बसेको छु। म यहीँ ज्याला मजदुरी गर्छु,’ दुर्गामानले भने, ‘भएको सम्पत्ति छोराको उपचारमै सकियो। अब बाँकी उपचार कसरी गर्ने भन्ने नै ठेगान छैन।’
एकातिर छोराको उपचार रोकिएला कि भन्ने चिन्ता, अर्कोतिर उपचारका लागि आवश्यक रकम जुटाउनुपर्ने बाध्यता। यही दोहोरो संकटबीच दुर्गामान सुमनको जीवन बचाउन सहयोगी हातको खोजीमा छन्।
सुमनको परिवारको आर्थिक अवस्था र उपचारको कठिनाइबारे जानकारी पाएपछि शैलुङ नेपालका अध्यक्ष रिमालले संस्थाका तर्फबाट सहयोग गरेको बताए।
‘सुमनको उपचारका लागि परिवारले ठूलो रकम खर्च गरिसकेको र अहिले पनि नियमित उपचार तथा औषधि आवश्यक रहेको जानकारी पाएपछि हाम्रोतर्फबाट सक्दो सहयोग गरेका हौँ,’ रिमालले भने, ‘बालकको उपचार निरन्तरता दिनुपर्ने अवस्था रहेकाले अन्य संघसंस्था, व्यक्ति तथा सहयोगी मनहरूलाई पनि सुमनको उपचारमा हातेमालो गरिदिन आग्रह गर्दछु।’
सुमनको उपचार अझै लामो समयसम्म चल्नुपर्ने भएकाले शैलुङ नेपालको सहयोगले परिवारलाई केही राहत मिले पनि थामी परिवारलाई थप आर्थिक सहयोगको आवश्यकता छ।
दैनिक ज्याला मजदुरी गरेर परिवार धानिरहेका बाबु दुर्गामानका लागि छोराको उपचार अहिले जीवनकै सबैभन्दा ठूलो चुनौती बनेको छ। भएको सम्पत्ति उपचारमै सकिइसकेको अवस्थामा अब सुमनको उपचारका लागि समाज, संघसंस्था र सहयोगी मनहरूको साथ आवश्यक देखिएको छ।
एउटा सानो सहयोगले सुमनको उपचारलाई निरन्तरता दिन सकिन्छ।
सुमनको जीवन बचाउने अभियानमा सहयोगी हातहरू जुटून्—यही परिवारको अहिलेको सबैभन्दा ठूलो अपेक्षा हो।