कांग्रेस नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको नेतृत्व अब यथास्थितिमा रहन नसक्ने बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उनले भने, २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिएको छ र अब पार्टीलाई स्थिर अवस्थामा राख्न सकिँदैन । उनले नेपाली कांग्रेसको विशिष्ट सभ्यता र संस्कृति रहेको भन्दै यसलाई जोगाउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी रहेको बताए। संस्कृति भनेको केवल शिरमा टोपी लगाउनु वा नलगाउनु होइन, बरु व्यवहारमा देखिने लोकतान्त्रिक परम्परा हो। कांग्रेसको पुरानो लोकतान्त्रिक संस्कृति संरक्षण गर्नु नै पार्टीको दीर्घ जीवन, संगठनात्मक मजबुती र सुरक्षित भविष्य सुनिश्चित गर्ने मार्ग हो। उनले कांग्रेस नेताहरूले सदस्यहरूप्रति देखाउने व्यवहारलाई जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गर्दै साधारण सदस्यहरूलाई पनि पार्टीको लोकतान्त्रिक पद्धति, संगठन र भविष्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका रहेको बताए।