काठमाडौं । कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ ।
साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमगरी कृतिको लोकार्पण गरिएको हो ।
लोकार्पणमा वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरे ।
डा. उपाध्यायले कृतिमार्फत् समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सांसद राजिव खत्रीले डा. उपाध्यायका सिर्जनामा समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति पाइने बताए ।
वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले यो कृति नेपाली कविताको समकालीन यात्रामा एउटा अर्थपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक–एक कविता वाचन गरे । स्रष्टा उपाध्यायले साहित्यलाई आत्माको आवाज भन्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए ।
कार्यक्रममा लेकालीसहित सांसद खत्री, पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी र वरिष्ठ साहित्यकार प्रा। पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायत सहभागी थिए ।
मिलाप पब्लिकेशनले प्रकाशित गरेको २९९ पृष्ठको कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । डा। उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, २५० जति गीत र १५० जति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।