भारतीय अवरोधका कारण नेपाली चिया निर्यात प्रभावित, सरकारसँग समाधान खोज्न माग

nepaltext

काठमाडौँ - भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण उद्योग क्षेत्र प्रभावित बनेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा भारतीय पक्षबाट लागू गरिएको नयाँ व्यवस्थाका कारण चिया उद्योग सञ्चालनमा समस्या आएको बताएका हुन्। उनले समस्या सुरु भएको केही दिन बितिसक्दा पनि सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाए।

भारतीय चिया बोर्डले चियाको गुणस्तर परीक्षणसम्बन्धी नयाँ प्रक्रिया लागू गरेपछि निर्यात प्रक्रिया जटिल बनेको बताइएको छ। नयाँ व्यवस्थाअनुसार परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने भएकाले निर्यातमा अवरोध सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।

निर्यात रोकिँदा किसानले उत्पादन गरेको हरियो चिया खेर जाने अवस्था आएको, उद्योगमा कार्यरत श्रमिक प्रभावित भएको र व्यवसायीहरू आर्थिक दबाबमा परेको सांसद राईले उल्लेख गरे।

उनले यस विषयमा यसअघि पनि संसद्मार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, कृषि तथा वाणिज्यसम्बन्धी निकायहरूसँग समेत समस्या समाधानका लागि पहल गरिएको भए पनि ठोस प्रगति नभएको उनको भनाइ थियो।

नेपाली चियाका लागि वैकल्पिक अन्तर्राष्ट्रिय बजार पहिचान गरी निर्यातलाई निरन्तरता दिने व्यवस्था गर्नुपर्ने माग पनि उनले राखेका छन्। चिया क्षेत्रको दीर्घकालीन संरक्षणका लागि सरकारले कूटनीतिक तथा नीतिगत पहल गर्नुपर्ने उनको जोड छ।

प्रतिक्रिया