तेहरान । इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग तथा सैन्य पूर्वाधार अमेरिकी सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई अमेरिकी कारबाहीमा प्रत्यक्ष सहभागी भएको मानिने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने सहयोग, सुविधा वा सैन्य आधारको प्रयोगलाई इरानविरुद्धको कारबाहीमा सहभागिताका रूपमा लिइने बताएका छन्। मेहर समाचार एजेन्सीका अनुसार उनले यस्तो सहयोग गर्ने देशलाई इरानले निष्पक्ष तेस्रो पक्षका रूपमा नहेर्ने स्पष्ट संकेत गरेका छन्।
अब्दोलाहीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा सम्बन्धित देशको जानकारी वा सहमतिबिना ठूलो सङ्ख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, तैनाथ हुन सक्ने सम्भावना न्यून रहेको बताए। इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूको अवस्थाबारे आफूहरू जानकार रहेको उनको भनाइ छ।
उनको चेतावनी विशेषगरी अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकप्रति लक्षित देखिएको छ। अमेरिकी सैन्य गतिविधिका लागि आफ्नो भूभाग, सुविधा वा अन्य सहयोग उपलब्ध गराउने देशलाई इरानले युद्धमा संलग्न पक्षका रूपमा व्यवहार गर्न सक्ने संकेत उनले दिएका छन्।
इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी रहेको बताइएको छ। इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाइएको छ।
यसैबीच, अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ‘युएसएस जर्ज वासिङ्टन’ लाई पुनः मध्यपूर्वमा तैनाथ गर्ने तयारी भइरहेको बताइएको छ। चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन मध्यपूर्व पठाउन लागिएको जनाइएको छ।
अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला इरानले यस्तो चेतावनी दिएको हो। खाडी मुलुकहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष संलग्न नरहेको बताउँदै आए पनि अमेरिकी सैन्य गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले दबाब बढाएको छ।
इरानको पछिल्लो चेतावनीले खाडी मुलुकहरूलाई अमेरिकी सैन्य गतिविधि र आफ्नै राष्ट्रिय सुरक्षा हितबीच सन्तुलन कायम गर्न थप चुनौतीपूर्ण अवस्था सिर्जना हुने संकेत गरेको छ।