'तत्कालीन दुई तिहाइको अहंकारले भदौ २३ मा युवाहरूको हत्या भयो': प्रचण्डको गम्भीर आरोप

nepaltext.com

काठमाडौं, फागुन १४ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनलाई सफल बनाउन सबै पक्षसँग आह्वान गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस निर्वाचनलाई सामान्य रूपमा नलिन विशेष आग्रह गरे। देश अहिले पूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने दिशामा अघि बढिसकेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा प्रचण्डले विगतका राजनीतिक घटनाक्रमप्रति कडा टिप्पणी गर्दै भदौ २३ गतेको घटनामा तत्कालीन सत्ताको अहंकारले युवाहरूको हत्या गरेको आरोप लगाए। उनले भने, ‘२३ गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने अतिवादी प्रवृत्ति, दुई तिहाइको दम्भले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने प्रवृत्ति नेपालको राजनीति र निर्वाचनमा अहिलेसम्म पनि आत्मसमीक्षा गर्न तयार भएको छैन।’

संयोजक प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै भदौ २३ गतेको उक्त घटनाको नैतिक जिम्मेवारी लिन समेत तयार नभएको भन्दै गम्भीर आपत्ति जनाए। उनले दुई तिहाइको दम्भले भ्रष्टाचारलाई प्रश्रय दिएको र युवाहरूको आवाज दबाउन खोज्ने प्रवृत्तिले अझै पनि गल्ती स्वीकार नगर्नु विडम्बनापूर्ण रहेको बताए। निर्वाचनको मुखमा प्रचण्डको यो आक्रामक अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया