रास्वपा कर्णालीकी संस्थापक महामन्त्री चन्द्रा बिकसहित दर्जनौँ नेता कांग्रेस प्रवेश

nepaltext.com

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ भन्दैमा कुनै पनि शक्तिले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेका छन्। आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी पार्टीको विभाजन र नेताहरू छरिएको प्रसङ्ग कोट्याउँदै नयाँका नाममा आउने भ्रमबाट मुक्त हुन आग्रह गरे। शर्माले विगतमा प्रचण्ड, ओली र माधव नेपाल सत्तामा हुँदा संविधान बन्न नसकेको तर कांग्रेसले सबैलाई समेटेर नेतृत्व लिँदा मात्र संविधान सम्भव भएको जिकिर गरे।

सम्बोधनका क्रममा शर्माले कांग्रेसले जनतासँग गरेका वाचा पूरा गरेको उदाहरण दिँदै भने, ‘नयाँ भन्ने नाममा त्यसले समाधान दिन्छ भन्ने कुराको भ्रम २०६४ सालको चुनावपछि देशले अनुभूति गरिसकेको छ,’ उपसभापति शर्माले थपे, ‘७० को चुनावमा कांग्रेसले भन्यो हामीलाई सबभन्दा ठूलो दल बनाउनुस्, हामी दुई वर्षमै संविधान बनाउँछौँ । नभन्दै सुशील कोइरालाको नेतृत्वमा दुई वर्षमै देशले संविधान पायो ।’

सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतसहित दर्जनौँ नेता–कार्यकर्ताहरूलाई उपसभापति शर्माले पार्टीमा स्वागत गरे। रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको लहरले आगामी निर्वाचनमा कांग्रेस थप बलियो हुने दाबी सो अवसरमा गरियो।

प्रतिक्रिया