पोखरामा खोलाले बगाएर ३ जना बेपत्ता

nepaltext

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा खोला तर्ने क्रममा तीन जना बेपत्ता भएका छन्।

पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन्। पोखरा–१४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ जाने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा–१४ चाउथेमा डेरा गरी बस्दै आएका सुवास राईका १५ वर्षीय छोरा ओमन राई र स्याङ्जा घर भई पोखराको छिनेडाँडामा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ रहेका छन्।

उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिए पनि शनिबार टोली रित्तै फर्किएको छ। प्रहरीले आइतबार बिहानैदेखि पुनः खोजी कार्य जारी राख्ने जनाएको छ।

यसैबीच, पोखरा–शिशुवामा पनि खोला तर्ने क्रममा एक जना बेपत्ता भएका छन्। उनको पहिचान खुल्न सकेको छैन। कास्की प्रहरीले उनको खोजी पनि जारी राखेको जनाएको छ।

अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सडक कटान तथा पुलमा क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिकाको विरेठाँटी क्षेत्रमा मोदी खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया