१८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अब तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ। उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले गरिएको यो व्यवस्थाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। हाल लामो दूरीका सवारी साधनले स्थानीय बसझैँ सडक किनारमै रोकेर यात्रु चढाउने–ओराल्ने गरेको र यसले विशेषगरी ‘पिक आवर’मा जाम बढाएको जनाउँदै सुवेदीले भने, ‘राजधानीका सडकमा भिडभाड बढिरहेको छ, त्यसमा पनि लामो दुरीका गाडीहरूले नियमविपरीत सडकमा रोकेर यात्रु चढाउने–झार्ने गर्दा जाम अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो।’ उनले थपे अनुसार लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्र पनि पुनरावलोकन गर्नुपर्ने अवस्था देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसँग आवश्यक पहलका लागि अनुरोध गरिसकेको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कडाइका साथ कार्यान्वयन गरिरहेको बताउँदै रातो बत्ती उल्लंघन गर्ने, जथाभावी लेन क्रस गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको जानकारी दिएको छ। चालकमा जिम्मेवारीपूर्ण व्यवहार विकास गर्न यी कक्षालाई अझ प्रभावकारी बनाउने योजना पनि ट्राफिक कार्यालयले अघि बढाएको छ। यसका अतिरिक्त सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ, र मोबाइल एप प्रयोग गर्दै आएका चालकले पहिलेको एप एक पटक ‘अनइन्स्टल’ गरी पुनः ‘इन्स्टल’ गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए। नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले सेवाग्राहीलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।