रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची

nepaltext

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुनेछ ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनका विषयमा पनि बैठकले छलफल गर्नेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ ।

यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ ।

पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा रहेको महामन्त्री आचार्यले जानकारी दिए ।

प्रतिक्रिया