काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा देशभरका होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालनमा कुनै अवरोध नहुने भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचनका क्रममा यी व्यवसाय बन्द गर्नुपर्ने बाध्यता छैन। तर, मदिरा र नशालु पदार्थको बिक्री–वितरणमा भने पूर्ण प्रतिबन्ध लगाइएको छ। यदि कुनै होटल वा रेष्टुरेण्टले मदिरा बिक्री गरेको पाइएमा सञ्चालकदेखि व्यवस्थापकसम्मलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।
निर्वाचन आयोगको आचारसंहिता फागुन १५ गते रातिदेखि नै लागू भइसकेकाले प्रहरीका देशभरका युनिटहरू प्रतिबन्धित गतिविधि रोक्न सक्रिय भएका छन्। प्रवक्ता काफ्लेका अनुसार मदिरा पसल र मदिरा पाइने अन्य पसलहरू पूर्ण रूपमा बन्द रहनेछन्। साथै, मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हिँडडुल गर्न समेत निषेध गरिएको छ।
आचारसंहिताको कार्यान्वयनबारे बोल्दै उनले भने, ‘१५ गते रातिदेखि नै लागू भइसकेको छ, त्यही पनि त्यस्ता पसल खुलेका र होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसले मदिरा बिक्री गरेका सूचना आएका छन्,’ उनले भने, ‘अब स्थानीय प्रहरी युनिटले एक-एक गरी त्यस्ता ठाउँमा नियन्त्रण कायम राख्छन् ।’
प्रहरीले होली पर्व मनाउन कुनै रोक नलगाए पनि यसलाई संयमित बनाउन निर्देशन दिएको छ। सांस्कृतिक परम्परा अनुसार होली मनाउन बाधा नभए पनि भिडभाड जम्मा गर्ने, स्टेज कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधिमा भने प्रतिबन्ध लगाइएको छ। हाल विवाह र व्रतबन्धको लगन (साइत) भएका कारण होटल र पार्टी प्यालेसलाई पूर्ण बन्द गर्न व्यावहारिक नभएको प्रहरीको तर्क छ। यद्यपि, त्यस्ता कार्यक्रमहरूमा मदिरा सेवन, हो–हल्ला र राजनीतिक भाषणबाजी गर्ने कार्यमा भने प्रहरीले कडा निगरानी र नियन्त्रण गर्नेछ।