म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

nepaltext

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ राहुपारेमा सार्वजनिक जग्गामा निर्माण गरिएका अस्थायी घरटहरा हटाइएको छ। पहिरोपीडित परिवारले गाउँपालिका र स्थानीय प्रशासनको आग्रहपछि बस्ती खाली गरेपछि मङ्गलबार डोजर लगाएर टहरा हटाइएको हो।

गाउँपालिकाले पटक–पटक सूचना तथा ताकेता गर्दै राहुपारेको अस्थायी बस्ती खाली गर्न आग्रह गर्दै आएको थियो। अस्थायी टहरामा बस्दै आएका परिवारले बस्ती छाडेपछि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल र वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर शाहीसहितको टोलीले डोजर परिचालन गरी संरचना हटाएको हो।

२०७२ साल जेठ १० गते गएको बैँसरी पहिरोका कारण विस्थापित भएका परिवारले राहुपारेमा अस्थायी टहरा निर्माण गरी करिब ११ वर्षदेखि बसोबास गर्दै आएका थिए। उनीहरूको वैकल्पिक बसोबासको व्यवस्था भएपछि गाउँपालिकाले बस्ती खाली गर्न आग्रह गरेको थियो।

गाउँपालिकाको असार ३१ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक प्रयोजनका लागि छुट्याइएको स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

उनका अनुसार गाउँपालिकाले पटक–पटक आग्रह गरेपछि अस्थायी बस्तीमा बस्दै आएका परिवारले ठाउँ खाली गरेका हुन्। अब गाउँपालिकाभित्र अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको समेत खोजी गरी अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरिने उनले बताए।

राहुपारेमा बसोबास गर्दै आएका बैँसरी पहिरोपीडितसँग साउन मसान्तभित्र अस्थायी बस्ती खाली गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार उनीहरूले बस्ती छाडेपछि टहरा भत्काएर त्यसबाट निस्किएको फोहोर तथा अन्य भौतिक संरचनाको अवशेष व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिँदा २६ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये केही परिवार पुरानै बैँसरीमा फर्किएका छन् भने केही गलेश्वर, बेनी, पोखरालगायतका स्थानमा बसोबास गर्दै आएका छन्।

राहुपारेमा पछिल्लो समय चार परिवार बस्दै आएका थिए। गाउँपालिकाको अनुरोध र निर्देशनपछि उनीहरूले समेत बस्ती खाली गरेपछि अस्थायी टहरा हटाइएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया