काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्तिको रूपमा उदाउने र देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई युद्धस्तरमा चुनावी अभियानमा होमिन निर्देशन दिए। मुलुकको समस्या समाधानका लागि आफूहरूले सुरुवाती दिनदेखि नै निर्वाचनको विकल्प नरहेको अडान राख्दै आएको उनले स्मरण गराए।
मुलुकको राजनीतिक दिशा अहिले निर्वाचनतर्फ मोडिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘आज सबै राजनीतिक दल निर्वाचनमा होमिएका छन्, अब सर्वदलीय सरकार, संसद् पुनर्स्थापनाका कुरा हराए। यसमा नेकपाले लिड गर्यो। र देश नै नेकपाको लाइनमा आएको छ।’ उनले अन्य राजनीतिक मुद्दाहरू किनारा लागेर अहिले सिंगो देश निर्वाचनको वरिपरि केन्द्रित हुनुमा आफ्नो पार्टीको प्रमुख भूमिका रहेको जिकिर गरे।
प्रचण्डले नेकपा र एमालेबीच १० सिटमा चुनावी तालमेल हुन लागेको भनी फैलाइएका समाचारहरूको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे। उनले आफ्नो पार्टी कुनै पनि वैशाखी नटेकी एक्लै 'अग्निपरीक्षा' मा होमिएको बताउँदै यदि निर्वाचन निष्पक्ष र धाँधलीरहित भयो भने नेकपालाई एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरे।