वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने घोषणा गरेका छन्। अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्पले इरानलाई सहयोग, व्यापार वा आर्थिक राहत प्रदान गर्ने कुनै पनि देशले कडा वित्तीय कारबाही भोग्नुपर्ने चेतावनी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन्। यद्यपि, उनले भविष्यमा उपयुक्त परिस्थितिमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन्।
ट्रम्पको पछिल्लो वक्तव्यमा सैन्य कारबाही वा सैन्य शक्तिको प्रयोगबारे भने कुनै उल्लेख गरिएको छैन। यसअघि इरानमाथि सैन्य आक्रमणको चेतावनी दिँदै आएका ट्रम्पले यसपटक आर्थिक दबाब र रणनीतिक घेराबन्दीलाई प्राथमिकता दिएको देखिएको छ।
इरानको तेल निर्यातमा थप दबाब सिर्जना गर्न रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज केन्द्रित कदम अघि बढाइएसँगै अमेरिकाले आर्थिक नीति थप कडा बनाउने संकेत गरेको छ। तर, इरानसँग व्यापार वा अन्य सम्बन्ध कायम राख्ने तेस्रो मुलुकमाथि अमेरिकाले कस्तो प्रकारको कारबाही गर्नेछ भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।