काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई बन्द सत्रको उद्घाटनका लागि उपस्थित हुन आग्रह गरेका छन्। उनले उमेर र पार्टीको भविष्य दुवैलाई ध्यानमा राख्दै सभापति देउवाले अब नेतृत्व हस्तान्तरणको बाटो खोल्नुपर्ने धारणा राखे। ‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ भन्दै उनले भावनात्मक रूपमा थपे, ‘अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’ शर्माले विशेष महाधिवेशनको विपक्षमा उभिएका केन्द्रीय सदस्यहरूलाई उपस्थित भीडले व्यङ्ग्य गरिरहेको टिप्पणी गर्दै भने, ‘हेर्नुस यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो ।’ साथै, पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुँदाहुँदै पनि त्यसलाई सामान्य छलफलमा समेत ल्याउन नसक्नु गम्भीर बिडम्बना भएको उनको तर्क थियो। ‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ भन्दै उनले प्रश्न उठाए, ‘हाम्रो पार्टीले न्युनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’