बालकृष्ण शिवाकोटीको नेतृत्वमा गोसाइँकुण्ड र सुपा देउरालीमा ११ अर्ब ३१ करोडको केबलकार परियोजना अघि बढ्दै

nepaltext.com

दोलखास्थित कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गरिरहेका व्यवसायी बालकृष्ण शिवाकोटीले धार्मिक पर्यटन क्षेत्रमा आफ्नो लगानी थप विस्तार गर्ने तयारी गरेका छन्। कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष तथा नेकपा एमालेका नेतासमेत रहेका शिवाकोटीले सिन्धुपाल्चोक-रसुवा क्षेत्रमा 'सूर्यकुण्ड-गोसाइँकुण्ड केबलकार' र अर्घाखाँचीमा 'सुपा देउराली केबलकार' निर्माणको प्रक्रिया अगाडि बढाएका छन्। यी दुई परियोजनामा कुल ११ अर्ब ३१ करोड ८ लाख ४० हजार रुपैयाँ लगानी हुनेछ।

उद्योग विभागमा दर्ता भएको विवरणअनुसार सूर्यकुण्ड गोसाइँकुण्ड केबलकार प्रालिमार्फत निर्माण हुन लागेको परियोजनाको कुल लागत १० अर्ब १ करोड ८ लाख ४० हजार रुपैयाँ रहेको छ। यसमा ९९ करोड १ लाख ८४ हजार रुपैयाँ विदेशी लगानी र १० करोड रुपैयाँ स्वदेशी लगानी रहने उल्लेख छ भने बाँकी रकम ऋण तथा अन्य वित्तीय स्रोतबाट जुटाउने योजना बनाइएको छ। वार्षिक ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखिएको गोसाइँकुण्ड धार्मिक आस्था र हिमाली पर्यटनको प्रमुख केन्द्र हो। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र समुद्री सतहबाट करिब ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको यो ताल रामसार सूचीमा समेत सूचीकृत छ। पौराणिक मान्यतानुसार भगवान शिवले विष सेवनपछि ताप कम गर्न त्रिशूल प्रहार गर्दा यसको उत्पत्ति भएको विश्वास गरिन्छ। हाल लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेकाले केबलकार निर्माणपछि वृद्धवृद्धा तथा अशक्तहरूका लागि यात्रा सहज हुनुका साथै हेलम्बु, रसुवा र आसपासका क्षेत्रमा पर्यटकीय तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा छ।

त्यस्तै, दोस्रो परियोजनाका रूपमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ स्थित प्रसिद्ध शक्तिपीठ सुपा देउरालीमा १ अर्ब ३० करोड रुपैयाँको लागतमा सुपा देउराली केबलकार निर्माणको प्रस्ताव गरिएको छ। यस आयोजनामा १ अर्ब २८ करोड रुपैयाँ विदेशी लगानी र २ करोड रुपैयाँ स्वदेशी लगानी रहनेछ। वार्षिक ५ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखिएको यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रक्रिया अघि बढिसकेको छ। सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डमा पर्ने यस मन्दिरमा दसैँ, चैते दसैँ तथा पर्वहरूमा लुम्बिनी प्रदेश, काठमाडौं र भारतका सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्। केबलकार निर्माणपछि उकालो यात्राको कठिनाइ हट्नुका साथै स्थानीय पर्यटन, होटल, व्यापार र रोजगारीका नयाँ अवसर सिर्जना हुने देखिन्छ।

नेपालमा मनकामना, चन्द्रागिरि, मौलाकालिका र कालिञ्चोक केबलकारको सफलतापछि निजी क्षेत्रको आकर्षण धार्मिक पर्यटन पूर्वाधारतर्फ बढेको छ। यसअघि ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुग्न कुरीबाट लाग्ने तीन घण्टाको पैदल यात्रालाई केबलकारमार्फत केही मिनेटमा सीमित गरिदिएपछि दर्शनार्थीको संख्या उल्लेख्य बढेको थियो। शिवाकोटीको नेतृत्वमा अघि बढाइएका गोसाइँकुण्ड र सुपा देउराली आयोजनाले पनि वातावरणीय स्वीकृति, वन तथा राष्ट्रिय निकुञ्जको अनुमति, स्थानीय समन्वय र वित्तीय व्यवस्थापनजस्ता कानुनी प्रक्रिया पूरा गरेपछि निर्माण चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया