क्रियाशील सदस्यता सम्बन्धी समस्या समाधानका लागि कांग्रेसले तोक्यो सम्पर्क व्यक्ति

nepaltext

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विभिन्न समस्या, गुनासा तथा समन्वय कार्यलाई व्यवस्थित गर्न चार जना सम्पर्क व्यक्ति तोकेको जनाएको छ।

क्रियाशील सदस्यता सम्बन्धी समस्या समाधान, नवीकरण प्रक्रिया सहज बनाउन तथा नयाँ सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको हो।

१४औँ महाधिवेशनमा स्थगित भई महाधिवेशनपश्चात् लागू हुने गरी स्वीकृत भएका क्रियाशील सदस्यहरूको अद्यावधिक तथा नवीकरण सम्बन्धी समस्या र गुनासा सङ्कलनका लागि मुक्तिप्रसाद आचार्यलाई सम्पर्क व्यक्ति तोकिएको छ।

क्रियाशील सदस्यता नवीकरणका क्रममा २०८२ पुस मसान्तसम्म प्रणालीमा प्रविष्ट गरिएका, प्रविष्टिका क्रममा सिस्टम बन्द भएर रोकिएका वा विभिन्न कारणले तहगत सिफारिसबाट छुट भई नवीकरण हुन नसकेका सदस्यहरूको छुट नवीकरणका लागि आवश्यक समन्वय गर्न प्रेम केसीलाई सम्पर्क गर्न भनेको छ।

यस्तै, क्रियाशील सदस्यता सम्बन्धी समस्या तथा गुनासाहरूलाई लिखित रूपमा केन्द्रीय कार्यालयमा जानकारी हरिचन्द्र खनाललाई जानकारी गराउन र अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय गर्न विष्णुदेव ठाकुरलाई सम्पर्क व्यक्ति तोकिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले सदस्यता अद्यावधिक गर्नको लागि यही २८ गतेसम्म समय तोकेको छ।

प्रतिक्रिया