काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कुनै पनि तहका हालका जनप्रतिनिधिहरूलाई उम्मेदवार नबनाउने नीति स्पष्ट गरेको छ। केन्द्रिय कार्यालयले उम्मेदवार सिफारिससम्बन्धी मापदण्ड थप प्रस्ट पार्दै जारी गरेको परिपत्रमा हाल राष्ट्रिय सभा र प्रदेश सभामा रहेका जनप्रतिनिधिहरूलाई सिफारिसमा नसमेट्न सबै तहका संगठनलाई निर्देशन दिइएको छ। परिपत्रमा भनिएको छ, ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’, साथै ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’ यसअघि १० बुँदे मापदण्डसहित पठाइएको निर्देशनमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पुनः उम्मेदवारी सिफारिस गर्न नपाइने उल्लेख थियो। त्यसैगरी, ०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्ति, सोही वर्षको समानुपातिक बन्द सूचीमा समावेश रहेका व्यक्ति तथा प्रदेश सभा सदस्य पदमा रहेकाहरूलाई समेत कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार बन्ने बाटो रोकेको छ।