बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ: विश्वप्रकाश शर्मा

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लमजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा निरन्तर एउटै व्यक्ति आसन जमाउने परम्परा अन्त्य गर्न आफूहरू अघि बढेको बताए।

उनले संविधानमै ‘१/२/३/४’ को नीति अंकित गर्ने उल्लेख गर्दै अब उप्रान्त कुनै पनि व्यक्ति प्रधानमन्त्री वा मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिने स्पष्ट पारे। उनका अनुसार सत्ता र पदमा सीमित अवधिको अभ्यासले राजनीतिक संस्कारमा सुधार ल्याउने विश्वास कांग्रेसले लिएको छ।

चुनावी मैदानमा प्रतिस्पर्धी दलप्रति मर्यादित व्यवहार गर्न आग्रह गर्दै शर्माले गालीगलौजको राजनीतिले लोकतन्त्र बलियो नहुने बताए। उनले भने, ‘गाली होइन, प्रेम सम्प्रेषण गरौँ, स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्नँ चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरू मार्फत नगरौँ।’

शर्माले देशको शासन प्रणालीमा आवश्यक सुधार गर्न नयाँ पुस्ता, विशेषगरी जेनजी पुस्ताको विद्रोही भावना र अपेक्षालाई आत्मसात् गर्दै कांग्रेस परिवर्तनको बाटोमा अघि बढेको दाबी गरे।

प्रतिक्रिया