काठमाण्डाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्की 'एनर्जी लिडरसिप एक्सेलेन्स अवार्ड २०२६' बाट सम्मानित भएका छन्। सिजन मिडियाद्वारा आयोजित 'एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ (भोल्युम ७)' अन्तर्गत ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा आइतबार आयोजित विशेष समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त सम्मान प्रदान गरे। नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र राष्ट्रिय पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याएकाले उनलाई यो अवार्ड प्रदान गरिएको हो।
पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कार्कीले आयोजक संस्थाप्रति आभार प्रकट गरे। उनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा योगदान पुर्याउन पाएकामा गौरवान्वित महसुस भएको बताउँदै ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी अभिवृद्धि र नीतिगत सुधारका लागि आगामी दिनमा पनि निरन्तर समर्पित रहने प्रतिबद्धता जनाए।
जलविद्युत् क्षेत्रका अग्रणी उद्यमी कार्कीले ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न र सरकार तथा निजी क्षेत्रबिच सहकार्य बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनी लामो समयदेखि जलविद्युत् आयोजना विकास, ऊर्जा नीति र निजी क्षेत्रका सरोकारका विषयमा सक्रिय रहँदै आएका छन्। इप्पानको नेतृत्व सम्हाल्दा उनले निजी क्षेत्रका विद्युत् उत्पादकका तर्फबाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापार, लगानी र नीतिगत सुधारका विषय सरकारसमक्ष उठाउँदै आएका थिए।
कार्की सिंगटी हाइड्रो इनर्जी लिमिटेडका पुर्व प्रवन्ध निर्देशक, पिपुल्स हाइड्रोपावरका निर्देशक, बेनी हाइड्रोपावरका प्रबन्ध निर्देशक तथा युनियन हाइड्रोपावरका निर्देशक हुन्। विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।