काठमाडौंस्थित काँडाघारी लाहुरेचोकमा सञ्चालित डेल्टा हस्पिटलले साउन १६ गतेबाट प्रत्येक साताको शनिबार जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
अस्पतालले जेष्ठ नागरिक समाज काँडाघारीले असार २५ गतेबाट आयोजना गरेको श्रीशिबमहापुराण चर्तुमास अनुष्ठान महायज्ञमा सहभागी हुन आउने जेष्ठ नागरिकहरुको आबश्यकतालाई मध्यनजर गरि अन्य जेष्ठजनहरुलाई सेवा दिने उदेश्यले यो अभियान सुरु गरेको हो । निशुल्क शिबिरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, रोगको पहिचान तथा असहाय तथा विपन्न जेष्ठजनहरुलाई अस्पतालमा उपलब्ध आबश्यक उपचार समेत गरिने डेल्टा अस्पतालका प्रबन्ध निर्देशक एवं हाडजोर्नि तथा नसारोग विशेषज्ञ डा.रामकृष्ण श्रेष्ठले जानकारी दिए । यो सेवा जेष्ठ नागरिक समाज काँडाघारीले उपलब्ध गराएको संख्या पुरा नहुन्जेल कायम रहने अस्पतालले जनाएको छ ।
केही समय अघिमात्र सञ्चालनमा आएको डेल्टा अस्पतालले समुदायमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न रोगहरुको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । स्थापनाको छोटो समयमानै निकै लोकप्रिय र प्रभावकारी सेवा प्रदान गर्दै आएको डेल्टा पछिल्लो समय बिरामीहरुको पहिलो प्राथमिकताको अस्पताल बन्दै गएको सरोकारवालाहरु बताउछन् । अस्पतालमा खासगरी आँखा, दाँत , मुटुरोग , हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।