काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको वर्तमान परिस्थितिमा राजीनामा दिएर उम्किनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्त्वपूर्ण हुने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले महामन्त्री गगन थापालाई राजीनामा दिनुभन्दा छिटो अधिवेशनको प्रक्रियामा जानु नै बुद्धिमानी हुने सुझाव दिएका हुन्।
भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उनले नेतृत्वको वास्तविक धर्म समस्याबाट भाग्नु नभई त्यसको समाधान खोज्नु रहेको उल्लेख गरे। उनले थपे, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’
कांग्रेस नेता भण्डारीले युवा पुस्ता पार्टीबाट टाढिँदै गएको समयमा संगठनलाई नयाँ जीवन दिनु आवश्यक रहेको तर्क गरे। यस्तो संकटको बेला पार्टी छाडेर हिँड्न नहुने भन्दै उनले नयाँ सोच र नेतृत्वको आवश्यकता औंल्याए। उनले अगाडि लेखेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ ।’
भण्डारीको यो भनाइले कांग्रेसभित्रको आन्तरिक बहस र आगामी महाधिवेशनको तयारीको सङ्केत गरेको छ।